-ओली नीजि विमानबाट उडेपछि विजय लामाले लेखे, ‘पीडा भयो’
काठमाडौं : प्रधानमन्त्री केपी ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सट्टा उडान नै सुरु नगरेको निजी कम्पनीको विमान चार्टर गरी चीन उडेपछि क्याप्टेन विजय लामाले दुखेसो पोखेका छन् । ओली चिनियाँ र नेपाली व्यवसायीको संयुक्त लगानीमा सुरु हिमालय एअरलाइन्सबाट आइतबार चीन उडेका हुन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका क्याप्टेन तथा कलाकार लामाले राष्ट्रिय ध्वजावाहक विमानलाई प्रधानमन्त्री ओलीले वेवास्ता गरेको भन्दै गुनासो पोखेका छन् । उनले यो घटनाले आफूलाई पीडा भएको उल्लेख गर्दै सोधेका छन् ‘कहिलेसम्म हेर्नुपर्छ यस्तो कुराहरु ? कहिलेसम्म सहनुपर्छ हामीले यस्तो पीडाहरु ?’
लामाले राष्ट्र र नेपालीलाई सम्मान गर्ने नेताहरु नआएको बताएका छन् । ‘नेताहरुले रास्ट्रिय ध्वजाको कदर गर्न जान्दैननु,’ उनले फेसबुक पेजमा लेखेका छन्, ‘धिक्कार्छु आफ्नो कर्मलाई यस्तो अवस्था आउँदा पनि केहि गर्न नसक्दा ।’
उनले नेताहरुको यस्तो कदम हेरेर बस्नुभन्दा अर्को विकल्प नरहेको पनि दुखेसो पोखेका छन् । ‘केही छैन अब न कि कसैलाई दोष नै दिनुु’ उनले लेखेका छन्, ‘हामी त सिर्फ ट्वाल्ल परेर हेर्ने मात्रै हो । हैन र साथीहरु ?’
हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि १५८ सिट क्षमताको एयरबस ए ३२० जहाज खरिद गरेको छ । यो जहाजले अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान गरेको छैन । हिमालय एयरलाइन्सले आगामी चैत ३० देखिमात्रै व्यापारिक उडान सुरु गर्दैछ । हिमालय एयरलाइन्स अध्यक्ष चिनियाँ नागरिक चेङ वुई हुन् ।
कम्पनीका अध्यक्ष चिनियाँ नागरिक चेङ हुई हुन् भने एअरलाइन्सका बोर्ड अध्यक्ष आङछिरिङ शेर्पा । उनीहरु दुबै ओलीसँगै चीन उडेका छन् । चीनको छेन्दुबाट १२ दिनअघि तिब्बत एयरलाइन्सका पाइलटहरूले उडाएर ल्याएको यो जेट विमान युरोपेली कम्पनी एयरबसको ‘ए–३२० सिरिज’ हो । उडानमा यस अध्यक्ष शेर्पा यती एयरलाइन्सका प्रबन्ध निर्देशक पनि हुन् । उनी एमाले निकट व्यापारी मानिन्छन् । एमाले पार्टी कार्यालय उनले दिएको घरमा नै सञ्चालनमा छ ।
यो विमान प्रधानमन्त्री नेपाल नफर्कुन्जेल बेइजिङमै बस्ने कम्पनीले जनाएको छ । नेपाल वायु सेवा निगमले हालै ल्याएका दुइटा एयरबस सरहकै यो विमानमा पनि १ सय ५८ सिट छन् । तीमध्ये ८ वटा बिजनेस र बाँकी १ सय ५० वटा इकोनोमी श्रेणीका छन् ।
यसले काठमाडौं विमानस्थललाई हब बनाउँदै सुरुमा भारतको राजधानी दिल्ली र कतारको राजधानी दोहामा कमर्सियल उडान भर्ने छ । तर, मिति तय भइनसकेकाले टिकट बिक्री खुला गरिसकेको छैन । यी दुई स्थानपछि चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान योजनालाई दोस्रो चरणमा राखेको छ ।
कर्मचारीको कुरै सुनेनन्
ओलीको यो कदमको कर्मचारीले समेत बिरोध गरेका थिए । नेपाल वायु सेवा निगमका उच्च अधिकारी र कर्मचारीहरूले प्रधानमन्त्रीको औपचारिक भ्रमणमा राष्ट्रिध्वजाबाहक विमान प्रयोग नगरी निजी क्षेत्रको एअरलाइन्समा जान लाग्नुले राम्रो सन्देश नजाने उल्लेख गर्दै पर्यटन मन्त्री आनन्द पोखरेल र सचिव प्रेम राईसमक्ष असन्तुष्टि प्रकट गरेका थिए ।
निगमका उच्च अधिकारीले पर्यटन मन्त्री र सचिवसित मौखिक र कर्मचारीहरूले लिखित रूपमा नै असन्तुष्टि प्रकट गरेको बताईन्छ । उनीहरूले प्रधानमन्त्रीको चीन भ्रमणमा निजी कम्पनीको विमानको चार्टर रद्द गरी राष्ट्रिय ध्वजावाहक निगमको जहाज प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
बाबुरामको पनि बिरोध
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ओली नीवि विमान चढेको बिरोध गरेका छन् । फेसबुकमा लेखेका छन्, ‘आज चैत्र ७ गतेबाट शुरू भएको प्रम ओलीको चीन भ्रमण शुभ रहोस्, सफल रहोस्१ परन्तु भूकम्प र नाकावन्दीले थिल्थिलो भएको देशको नाजुक अर्थतन्त्रको ढाड भाँचिने गरी सय जनाको जम्बो टोली लैजानु र सार्वजनिक स्वामित्वको नेपाल एअरलाइन्सका जेट विमान छँदाछदै सञ्चालनमा आइनसकेको निजी क्षेत्रको विमान चार्टर गरेर जानु चाहिँ अलि बढी ज्यादतिपूर्ण र अशोभनीय नै भयो है !’


