-दैलेखमा खानि उत्खनन शुरु, १०० बर्ष पुग्ने पेट्रोलियम भेटियो..हेर्नुहोस्..(भिडियो सहित )..
दैलेख- नाकाबन्दीले इन्धन अभाव चुलिइरहँदा सरकारले दैलेखस्थित खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खननका लागि एक महिनाभित्रै प्रक्रिया सुरु गर्ने भएको छ। खानी तथा भू–गर्भ विभागले तत्काल उत्खनन गर्न सकिने सम्भावनाको क्षेत्र पुष्टि गरेपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सोमबार खानीस्थलमै पुगेर यस्तो योजना सुनाएका हुन्।
खानी क्षेत्रमै पुगेका उनले एक महिनाभित्रै उत्खनन प्रक्रिया सुरु हुने जानकारी दिए। भू–गर्भविद्सहित आएका उद्योगमन्त्री पाण्डेले सोमबार ग्यास र पेट्रोलियम पदार्थको खानी रहेको पञ्चकोसी क्षेत्रका खोला र भिरबाट निस्किएका ग्यास र पेट्रोलको अनुगमन गरेका थिए। श्रीस्थान र नाभिस्थानमा रहेको खानी हेरेपछि नाभिस्थानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योगमन्त्री पाण्डेले मन्त्रालयबाट उत्खननका लागि कार्यक्रम तय भइसकेकाले एक महिनाभित्र अन्वेषण, खोजी र उत्खननका लागि काम हुने बताए।
‘विभागले तत्काल निकाल्न मिल्ने तीन स्थान पहिचान गरेर सम्भावनासहित राय पेस गरेको छ,’ उनले भने, ‘तीन स्थानमध्ये दैलेख पनि एक हो। तत्काल कति छ, कुन अवस्थामा छ र त्यसबाट उपभोग गर्न सहज हुन्छ कि हुँदैन अध्ययन हुनेछ।’ उनले नेपालका १० स्थानमा यस्ता खानी रहेको बताए। ‘पहिलो प्राथमिकता देशकै जनशक्ति प्रयोग गर्ने र त्यसबाट हुन नसके विदेशबाट विज्ञको टोली झिकाएर अध्ययन तथा उत्खननको प्रक्रिया अघि बढाइनेछ,’ उनले भने। मन्त्री पाण्डेले खोलाको भित्ताबाट निस्किएको ग्यासबाट आगोसमेत बालेर तापेका थिए। त्यसपछि खोलाकै किनारमा बगिरहेको पेट्रोलियम पदार्थसमेत निरीक्षण गरे।
पञ्चकोसी क्षेत्रको खोला तथा भित्तामा ग्यास र पेट्रोल निस्किएको देख्न सकिन्छ। खानी तथा भू–गर्भ क्षेत्रीय कार्यालय प्रमुख तथा भू–गर्भविद् रत्नमणि गुप्ताले अघिल्लो आर्थिक वर्षमा डिटेल भौगोलिक नक्सा तयार भएकाले अब जियोफिजिकल सर्भे गर्न जरुरी भएको बताए। ‘३० वर्ष अघिदेखि यहाँको खानीबारे अध्ययन भइरहेको छ,’ भू–गर्भविद् गुप्ताले भने, ‘यहाँ एक सय वर्ष पुग्ने पेट्रोलियम पदार्थ रहेको अनुमान छ।’यसअघि खानी भएको पञ्चकोसी क्षेत्रमा अवलोकलनका लागि २०६८ मा विज्ञहरू सम्मिलित संसदको अर्थ र श्रमसम्बन्धी समिति आएको थियो। संसदीय टोलीले ग्यासको नमुना संकलन गरी फर्किएको थियो।
खानी तथा भू–गर्भ विभागका अनुसार क्यानेडियन र चाइनिज कम्पनीको अनुसन्धानबाटै यहा” ग्यास भएको पुष्टि भएको जनाएको छ। पादुका, शीरस्थान, नाभिस्थान, धुलेश्वरमा ग्यास र पेट्रोल रहेको अनुसन्धानले देखाएको छ। यहाँका मन्दिर आसपास र खोलामा तैरिरहेको पेट्रोल र खोलामा हावाको फोकाको रूपमा ग्यास निस्किरहेको छ।

