-अमेरिकामा हिमपात र आँधी, पाँच करोड मानिस प्रभावित....

काठमाडौं, १० माघ-

अमेरिकामा आएको शक्तिशाली आँधी उत्तरपूर्वी तट क्षेत्रमा आइपुगेको छ । यो बर्फिलो आँधीलाई पछिल्लो शताब्दीकै शक्तिशाली मानिएको छ । आँधीबाट करिब पाँच करोड मानिस प्रभावित भएको अनुमान छ । आँधीका कारण नौजनाको मृत्यु भइसकेको छ । १० अमेरिकी राज्यमा आपत्काल घोषणा गरिएको छ भने हजारौँ फ्लाइट रद्द गरिएका छन् । त्यसैगरी, सरकारी विद्यालय र कार्यालयसहित यातायात व्यवस्था पनि बन्द गरिएको छ ।

केहीदिनदेखि जारी हिमपातका कारण करिब दुई फिट हिउँ जमेको छ जसका कारण मानिसहरू घरमै कैद भएका छन् भने आवास क्षेत्रमा विद्युत् आपूर्ति काटिएको छ । अमेरिकी राजधानी वासिंगटनमा ३० इन्च हिँउ जमेको छ । मौसमले दक्षिणमा अर्कानसादेखि उत्तर–पूर्वमा मासाच्युसेट्ससम्मलाई प्रभावित पारेको छ । सुपरमार्केटहरूमा खाद्यान्न अभाव सुरु भएको छ । वासिंटनका मेयर मुराइल बोसरले आँधी ‘ज्यानका लागि जोखिमपूर्ण’ भनेपछि अमेरिकी संघीय सरकार शुक्रबार दिउँसै बन्द गरिएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि ह्वाइटहाउसमै छन् । एजेन्सी




प्रतिक्रिया दिनुहोस्...