-‘घैंटे’को करोडौं सम्पती यसरी कब्जा गरिंदैछ..
काठमाडौं, ९ पुस । प्रहरी इन्काउन्टरमा मारिएका राजधानीका डन कुमार श्रेष्ठ ‘घैंटे’ को सम्पत्ति खान उनकै एक दर्जन सहयोगी लागि परेका छन् ।घैंटेको मृत्यु भएपछि आफूलाई दाजु दाबी गर्ने राजु श्रेष्ठ, व्यापारीक साझेदार शान्ता महर्जन, रोशन साह, सर्बन महर्जन, राजेश कार्की, गुण्डाका सदस्य हबल्दार भन्ने प्रतिक श्रेष्ठ र घैंटेका मित बाफलका डन समिरमानसिंह बस्नेतको गिरोह लागिपरेको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।यो समूहलाई काठमाडौंको २९ नम्बर वडाका सचिव नबराज थापाले सहयोग गर्दै आएका छन् । घैंटेले गुण्डागर्दीको आडमा थुपारेको अधिकांश कालोेधन यिनीहरुकै नाममा खुलिसकेको छ ।आफूलाई दाजु दाबी गर्ने राजुले किर्ते कागजात तयार पारी सम्पत्ति खान खोजेको स्थानिय बासिन्दाले आरोप लगाएपछि यो कुरा बाहिर आएको हो ।
राजुले घैंटेको हकदार कोही नभएको भन्दै आफू दाजु भएको दाबी गरेर वडा सचिव थापाको मिलोमतोमा किर्ते कागजात तयार पारी नाता प्रमाणितकोे लागि महानगरपालिका पठाएको समेत खुलेको छ ।राजुले मृत्यु दर्ताको प्रमाणपत्र लिईसकेका छन् भने नाता प्रमािणतको लागि सचिवको सिफारिस लिइसकेका छन् ।सचिवले उनलाई मृत्यु दर्ताको प्रमाण पत्र दिइसकेका छन् भने नाता प्रमाणित महानगरपालिकामा आएर अड्किएको छ ।घैंटेकी श्रीमती पिंकी शेर्पाले गाबिस सचिव थापाले आफूलाई नाता प्रमाणीतको लागि सिफारिस नदिएको भन्दै महानगरपालिकामा उजुरी गरेपछि राजुको नाता प्रमाणित अड्किएको हो ।प्रेम बिवाह गरी चार बर्षदेखी घैंटेसँगै बस्दै आएकी शेर्पा कान्छी श्रीमती हुन् भन्दै प्रहरीको रोभरमा स्थानीय बासिन्दा र वडाका प्रतिनिधिले मुच्चुल्का बनाएका थिए ।
त्यसपछि घैंटेको शब प्रहरीले पिंकीलाई नै जिम्मा लगाएको थियो । नाता प्रमाणीत लिन गएका राजुलाई नगरपालिकाका कर्मचारीले जेल जाने बिचार छ कि के हो भन्दै उल्टै हकारेर पठाएका थिए ।तर, उनी कुनै हालतमा नाता प्रमाणित लिएर घैंटेको सम्पत्ति आफ्नो नाममा ल्याउने षड्यन्त्रमा जुटेका छन् । उनलाई वडा सचिव थापाले सहयोग पु¥याउंदै आएका छन् ।दुई पटकसम्म मुचुल्का उठाउँदा स्थानियले कुमार श्रेष्ठको श्रीमती शेर्पा भएको भन्दै सनाखत गरेपछि राजु र वडा सचिव थापा सम्पत्तिको लोभमा नयाँ रणनीतिमा जुटेको महानगरपालिकाका एक कर्मचारीले बताए ।
राजुले आफू निकटका व्यक्तिलाई भेला गराएर पिंकीलाई घैंटेको श्रीमती नभएको प्रमाणित गराउन खोजेका छन् । किर्ते कागजात तयार पारिएको भेटिएमा वडा सचिवलाई कारवाही गरिने महानगरपालिकाका एक अधिकृतले बताए ।‘श्रीमती हँदा हुँदै अर्काको नाममा सिफारिस किन दिएको भनेर सचिवलाई पत्र लेखेको छ, जवाफ आएको छैन्, जवाफ आएपछि सत्य तथ्य थाहा हुन्छ ।’–उनले भने ।घैंटेको हरिमान लामा सञ्चालक रहेको एयर एसिया, लाजिम्पाटको फ्राईडे रेष्टुरेन्ट, गजुरमुखी निमार्ण सेवालगायतमा करोडौं लगानी रहेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।
गुण्डाका नाईके हबल्दार भन्ने प्रतिक श्रेष्ठ, बाफलका समिरमानसिंह बस्नेत, शान्ता महर्जन, ठेकेदार सन्तोष गौतमलगायत एक दर्जन व्यक्तिसँग घैंटेको करोडौं कारोबार रहेको पनि प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।घैंटेले फ्राइडेका साझेदार राजेश कार्कीको नाममा एयर एसियामा पाँच करोड बराबरको लगानी गरेको स्रोत बताउँछ ।त्यस्तै शान्ताको नाममा बालाजुमा २४ आना जग्गा, प्रतिकको नाममा आधा दर्जन टिपर गाडी, समिरको नाममा धादिङको अबैध बालुवा तथा ढुंगा खानीमा घैंटेको करोडौं लगानी रहेको स्रोत बताउँछ ।समिरमानले घर बनाउँदासमेत घैंटेसँग एक करोड सापट लिएका थिए ।
घैंटेका कारोबारीमाथि महानगरिय अपराध महाशाखाले निगरानी बढाएको छ ।सम्पत्ति सुद्दीकरण अनुसन्धान विभागले माथि उल्लेखित व्यक्तिहरुको नाममा रहेको सम्पत्ति खोजी गर्ने हो भने घैंटेको अवैध सम्पत्ति भेटिने एक प्रहरी अधिकारी बताउँछन् ।तर, यतिखेर सम्पत्ति सुद्दिकरण विभाग निकम्मा जस्तै भएको छ । Source: Taja Khabar

