-यी हुन् दुनियामा सबैभन्दा बढि लत बसाल्ने चिजहरु... जानी राखौ

धुम्रपान, मध्यपान तथा लागु औषधको सेवन स्वास्थ्यका लागि हानिकारक छ । यो कुरा सबैलाई थाहा हुँदाहुँदै पनि विश्वका लाखौँ करोडौँ मानिसहरुले यिनै चिजमा अरबौँ रकम उडाइरहेका छन् र यिनी पदार्थहरुको लतमा फसिरहेका छन् ।शोधकर्ताहरुले विश्वमा हाल सबैभन्दा बढि मानिसलाई लतमा फसाएका मुख्य ५ पदार्थको सूचि तयार पारेका छन् । जसमा निकोटिन देखि अल्कोहल र विभिन्न लागु औषध रहेका छन् ।


निकोटिन : निकोटिन नामक रसायन सूर्तिमा पाइन्छ र यो विश्वका सबैभन्दा धेरै मानिसहरुलाई लत बसाल्न सफल पदार्थ हो । जब कसैले चुरोट तान्दछ तब निकोटिनलाई हाम्रो फोक्सोले सोसेर लिन्छ र त्यो मस्तिष्कमा पुग्दछ । यसले मानिसमा विस्तारै तलतली पैदा गर्दछ र लत बसालिदिन्छ । सन् २००२ को विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार विश्वमा १ अर्ब भन्दा बढि धुम्रपानका अम्मली छन् र वाषिर्क ८० लाख मानिसको धुम्रपानकै कारण ज्यान जाने गर्दछ ।

कोकिन : विश्वमा धेरै मानिसलाई लतमा फसाउन सफल अर्को पदार्थ कोकिन हो । यो लागु औषध मानिसले सेवन गरेसँगै यसले मस्तिष्कको डोपामाइन हर्मोनको प्रयोगलाई प्रभावित गर्दछ । साथै यसले स्नायु कोशिकाहरुको संवेदना संचार गर्ने कार्यलाई पनि प्रभावित गर्दछ । विश्वमा २ करोड मानिसहरुले कोकिन सेवन गर्ने गरेको पाइएको छ । कोकिन सेवन गर्नेमध्ये २१ प्रतिशत मानिसहरु जिवनकालमा एक न एक पटक यसको स्थायी कुलतमा फस्ने गरेको पाइएको छ ।

अल्कोहल : अल्कोहल विश्वमा सबैभन्दा धेरै मानिसलाई लतमा फसाउने दोश्रो प्रमुख पदार्थ हो । अल्कोहलको सेवनले मस्तिष्कमा डोपामाइन हर्मोनको उत्सर्जन बढाउँदछ । विश्वमा २ अर्ब मानिसहरुले अल्कोहल सेवन गर्ने गरेका छन् र ३० लाख मानिसहरुको रक्सी सेवनकै कारण वर्षेनी मृत्यु हुने गरेको छ ।

हेरोइन : हेरोइन विश्वको सबैभन्दा शक्तिशाली नशालु पदार्थ मानिन्छ र यसको लत बसाल्ने क्षमता सबैभन्दा उच्च हुने गर्छ । विश्वमा वर्षेनी झण्डै ७० अर्ब डलर बराबरको हेरोइनको अवैध कारोबार हुने गरेको छ ।

बार्बिच्युरेट्स अर्थात् लठ्याउने ड्रग्स : ब्लु बुलेट्स, गोरिल्ला, नेम्बिस, बाब्र्स, पिंक लेडिज आदि विभिन्न नामका लठ्याउने ड्रग्सहरुपनि पछिल्लो समय लागु औषधिको रुपमा प्रयोग हुने गरेका छन् । शोधकर्ताहरुले यी औषधिलाई विश्वको चौथो लत बसाल्ने पदार्थको रुपमा सूचिकृत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्...