-सामसुङले नेपालमा ल्यायो नयाँ मोबाइल : जुन पानीमा भिज्दा पनि केही नहुने (भिडियो सहित) ..

मिडिया एनपी, काठमाडौं, २६ फागुन । पानीबाट मोबाइल फोन जोगाउन निकै गाह्रो भइरहेका बेला सामसुङले पानीले भिज्दा समेत केही नहुने मोबाइल फोन नेपालमा सार्वजनिक गरेको छ । कलाकार, खेलाडी लगायतलाई मञ्चमा उतारेर सामसुङले बुधबार ग्यलेक्सी सिरिजको सातौं संस्करण सार्वजनिक गरेको हो ।


नायक निश्चल बस्नेत, नायिका निशा अधिकारी, नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जन, फुटबलर नवयुग श्रेष्ठलगायतलाई मञ्चमा आकर्षक ढङ्गबाट उतारेर सामसुङ कम्पनीले ‘एस ७’ र ‘एस ७ एज’ सार्वजनिक गरेको हो ।

सो अवसरमा उक्त मोबाइल फोनको विशेषताका बारेमा जानकारी गराउने क्रममा पानीमा समेत डुबाएर देखाइएको थियो । यी फोनमा पानी र धुलो प्रतिरोधात्मक क्षमता रहेको दावी गरिएको छ । नेपाली बजारमा ‘एस ७’को मूल्य ८८ हजार ९ सय रुपैयाँ र ‘एस ७ एज’को ७७ हजार ९ सय रुपैयाँ तोकिएको सामसुङले जनाएको छ ।

सो मोबाइल सार्वजनिक गर्ने क्रममा वितरण गरिएको विज्ञप्तिका अनुसार ‘एस ७’ मा ५.१ इञ्चको डिस्प्ले रहेको छ भने ‘एस ७ एज’मा ५.५ इञ्चको कर्भ डिस्प्ले छ । डिस्प्ले, डायमन्सन र ब्याट्रि क्षमता बाहेक दुबै स्मार्टफोनमा समान विशेषता रहेका छन् । एस ७’ मा ३ हजार एमएएचको ब्याट्री र ‘एस ७ एज’मा ३६ सय एमएएच क्षमताको ब्याट्री छ ।

साथै पछाडि १२ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेल क्यामेरा जडान सो स्मार्टफोनले कम प्रकाशमा पनि राम्रो तस्वीर खिच्न सक्ने सामसुङको दाबी छ । स्मार्टफोनमा थ्री डी ग्लास र धातुको प्रयोगले फोनको लुक झन लोभ लाग्दो बनाएको छ। यसमा ‘अल्वेज अन डिस्प्ले’ फिचर भएका कारण कुनै नोटिफिकेशन, मिति हेर्न फोनलाई बारम्बार टच गर्नु पर्ने आवश्यकता हुने छैन।

स्न्यापङ्रयागन ८२० प्रोसेसर भएका यी फोन ह्याङ नभइकन ५र ६ वटा एप्स एकै साथै प्रयोग गर्न सकिने छन्। यसमा भएको ‘इन्टरनल कुलिङ सिस्टम’ ले फोनलाई तातो हुनबाट जोगाउँछ। दुवै फोनमा ४ जीबी र्याम दिइएको छ। नेपालमा ३२ जीबी इन्टरनल मेमोरी भएको एस ७ एज र एस ७ खरिद गर्न सकिने छ र उक्त फोनहरुमा २०० जीबी सम्मको मेमोरी कार्ड राख्न सकिन्छ। एन्ड्रोइड मार्समेलो ६.० अपरेटिङ सिस्टममा काम गर्ने यी फोनमा ४ जी एलटीइ, वाईफाई, एनएफसी, ब्लुटुथ ४.०, युएसबी २.० आदी सुविधा छन्।





प्रतिक्रिया दिनुहोस्...