-पराजयपछि भावुक हुँदै यसो भने गगन थापाले हेर्नुहोस्.. (भिडियो सहित )...
काठमाडौं, फागुन २६ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महमन्त्री पदमा पराजित युवा नेता गगन थापाले नेपाली कांग्रेसलाई ‘सबैको कांग्रेस’ बनाउने गुरुत्तोर जिम्मेवारी निर्वाचित पदाधिकारीको काँधमा आएको स्पष्ट पारेका छन् । उनले सबैको भावना समेटी नयाँ नेतृत्वले पार्टीलाई गतिशील रुपमा अगाडि बढाउने विश्वास पनि व्यक्त गरेका छन् ।बुधबार विज्ञप्ति जारी गर्दै थापाले नेपाली कांग्रेसको १३औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन आ–आफ्नो ठाँउबाट क्रियाशील सबैलाई धन्यवाद दिएका छन् । उनले महाधिवेशनवाट निर्वाचित सभापति, महामन्त्री र कोषाध्यक्षलाई पनि बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।
‘यस महाधिवेशनमा मलाई अपार स्नेहका साथ मत दिने, शुभेच्छा प्रकट गर्ने, साथ सहयोग र समर्थन गर्ने सबैप्रति हृदयदेखि नै आभारी छु,’ थापाले भनेका छन्, ‘महाधिवेशनमा सहभागी साथीहरु मात्र होईन, देशभित्र र बाहिर रहेका लाखौं कांग्रेसजनहरू, आम नेपाली आमावुवा, दिदीबहिनी तथा दाजुभाईहरूले प्रत्यक्ष अप्रत्यक्ष रुपमा देखाएको स्नेह, आशा, भरोसा अनि प्रेरणा र मार्गदर्शनलाई मैले मप्रतिको विश्वासको रुपमा लिएको छु ।’
भेटघाट, सामाजिक संजाल, संचारमाध्यममार्फत प्रकट गरेको उत्साह र स्नेहका अविष्मरणीय क्षणले आफू अहिले पनि अभिभुत भएको उल्लेख गर्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘युवा साथीहरूको साथ, अग्रजको हौसला र स्नेह मेरा निम्ति सधै प्रेरणा र उर्जाको रुपमा रहनेछन् ।
मेरो सबैभन्दा ठुलो राजनीतिक सम्पत्ति पनि त्यहि हो । यो विश्वासलाई मैले समाज परिवर्तनका निम्ति आफूमाथिको चुनौंति र जिम्मेवारीकै रुपमा लिएको छु ।यही विश्वासको जगमा टेकेर महाधिवेशनमा पार्टी रुपान्तरण र मुलुकको समृद्धिका लागि आफूले प्रस्तुत गरेका विषयहरूलाई अगाडी बढाउन आगामी दिनमा मेरो प्रयास थप उर्जाका साथ निरन्तर रहने पनि उनले प्रष्ट पारेका छन् ।हिजोजस्तै भोलिका दिनमा पनि म सदैव तपाईको साथमा रहनेछु,’ उनले भनेका छन्, ‘आगामी दिनमा पार्टीभित्र पार्टी सदस्य र प्रतिनिधिको मनमा लागेको कुरा निर्णयमा व्यक्त गर्नसक्ने अवस्थाको लोकतान्त्रिक पद्दति निर्माणका लागि पनि मेरो प्रयास रहनेछ ।
नेपाली कांग्रेस पार्टीलाई २००७ सालको जस्तो क्रान्तिकारी र २०१५ सालको जस्तो प्रगतिशील बनाउँदै परिवर्तित युगको हाँकलाई स्वीकारेर नेपाललाई सम्मानित र समुन्नत नेपाली बस्न सक्ने विलक्षण विविधताले युक्त समुन्नत घर बनाउने आधारशीला खडा गर्न र नेपाली कांग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर मूलुकलाई समुन्नतिमा लैजाने अभियानको नेतृत्व गर्ने पार्टी बनाउन पार्टी पुनर्निर्माणको आफ्नो अभियान जारी रहने पनि उनले प्रष्ट पारेका छन् ।
‘यस अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छु,’ उनले भनेका छन्, ‘महाधिवेशमा मेरो उम्मेदवारीलाई आफ्नै जस्तोगरि अहोरात्र खट्नुहुने आदरणीय अग्रज तथा साथीहरू र सुभेच्छा प्रकट गर्ने सवैप्रति पुनः हार्दिक आभार प्रकट गर्दछु ।’

