-यसरी हटायो भारतले नाकाबन्दी..
काठमाण्डु, ६ फागुन– संविधान जारी भएपछि ४ असोजदेखि भारतले नाकाबन्दी गर्यो । २४ असोजमा भारतको रुचिविपरीत एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । उनले भारतसँग सम्बन्ध सुधारका लागि १५ देखि १७ मंसिरमा उपप्रधानमन्त्री कमल थापाको अनौपचारिक भारत भ्रमण गराए । जुन सार्वजनिक पनि भयो । तर, त्यही समयमा नेपाली सेनाको गोप्य टोलीको दुई साता लामो दिल्ली भ्रमण पनि गराए । जुन अति गोप्य राखियो । दुई सेनाबीचको छलफलपछि भारत नाकाबन्दी हटाउन तयार भयो ।नाका खोल्ने आश्वासनपछि मात्रै प्रधानसेनापति राजेन्द्र क्षत्री भारत भ्रमणमा गएका थिए । भारतले क्रमशः नाकाबन्दीमा पुनरावलोकन गर्ने आश्वासन पठाएको थियो।
नाकाबन्दी हट्ने संकेत पाएपछि मात्रै प्रधानसेनापति क्षत्रीले भारत भ्रमणमा जाने निश्चित गरेका थिए । उनी भ्रमणमा जाँदा नाकाबन्दी थियो, फर्किँदा हटिसकेको थियो ।प्रधानमन्त्री केपी ओली सम्बन्ध सुधारको मूल एजेन्डासहित जम्बो प्रतिनिधिमण्डल लिएर शुक्रबार दिल्ली पुग्दै छन् । उनी प्रधानमन्त्री भएयता भारतसँगको तिक्तता र नाकाबन्दी हटाउन पटक–पटक धेरै तहका पहलकदमी भए । सेनापतिको भ्रमणपछि मात्रै परिस्थिति सहज भयो । भारतले प्रधानमन्त्री ओलीलाई रातो कार्पेट विच्छाएर ऐतिहासिक स्वागत गर्दै छ । उनलाई राष्ट्रपति प्रणव मुखर्जीकै निवासमा बस्ने व्यवस्था मिलाइएको छ ।
नयाँ पत्रिकाबाट

