-जलेको जहाज र लासका टुक्रा देख्दा सासै रोकिएजस्तो भयो... हेर्नुहोस (भिडियो सहित )..
फुलकुमार थापा प्रहरी जवान, जिप्रका, म्याग्दी
तारा एयरको विमान दुर्घटनाको सूचना पाउनासाथ हामी जिप्रका म्याग्दीबाट लोकेन्द्रसिंह गुरुङको नेतृत्वमा घटनास्थल खोज्न निस्कियौँ । स्थानीयको भनाइलाई आधार मानेर धेरै स्थान खोज्यौँ । खोज्ने क्रममा हामीले मेलाखर्कका केही स्थानीयलाई सोध्यांँ । आगो बलेको देख्यौँ भनेपछि उनीहरूको साथ लागेर हामी घटनास्थलतिर हिँड्यौँ ।
टिमका सबै समान हिँड्न नसकेका कारण म र हाम्रो हल्साव (चन्द्रबहादुर रावल) र केही स्थानीय पहिला दुर्घटनास्थल पुग्यौँ । ओहो… शवका टुक्राहरू जताततै छरिएका ! जहाजमा आगो बलिरहेको ! के गर्ने के गर्ने भयो । जलेको जहाज र लासका टुक्रा देख्दा सासै रोकिएजस्तो भयो । विस्तारै कतै कोही मान्छे जिउँदो छ कि भनेर हेरँे । तर, निकै पर–परसम्म पनि लासका टुक्रा मात्रै देखियो ।
\जहाजमा निकै ठूलो राँको बलिरहेको थियो । कसैका हात मात्रै, कसैको टाउको आधा, कसैको खुट्टाको आधा भाग मात्र देखियो । पानी पर्लाजस्तो मौसम छ । बादल लागेको छ । कसरी लास संकलन गर्ने भन्ने विषयमा चिन्ता भएको छ । निकै भीर भएका कारण राम्ररी हिँड्न पनि सकिँदैन । निकै तल–तल लासका टुक्रा छन् । उद्धारमा आएको जहाज कराएको आवाज सुनिन्छ । तर, आकाशमा हेर्यो बादलले ढाकेको छ । हामी यहाँ टेकेको पाँच मिनेट पनि भएको छैन । अब हल्सा’ब र म सल्लाह गरेर के गर्ने भन्ने निर्णयमा पुगेर अगाडि बढ्छौँ । नयाँ पत्रिकाबाट

