-चीनको सहयोगमा काठमाडौँ उपत्यकाका व्यस्त स्थानमा आठ लेन ६२ मि चौडाइका चार पुल निर्माण सुरु...
काठमाडौँ, १४ माघ । चीनको सहयोगमा चक्रपथको मनोहरा, वाग्मती र बल्खु खोलामा आठ लेन ६२ मि चौडाइका चार पुल निर्माण सुरु भएको छ । बल्खुमा दुई तथा कलङ्की र बालकुमारीमा एक÷एक वटा आठ लेनको ६२ मि चौडाइको पक्की पुल निर्माण सुरु भएको हो । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको चक्रपथको कलङ्की–कोटेश्वर खण्डको काम अन्तर्गत उल्ेिखित तीन नदीमा आठ लेनका पुल निर्माण हुन लागेको हो । चक्रपथको कलङ्की–कोटेश्वर १०.३९ किमी सडक आठ लेनको गर्ने क्रममा चार पुललाई आठ लेन बनाउन लागिएको सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनियर एवम् चक्रपथ सुधार आयोजनाका प्रमुख लक्ष्मीदत्त भट्टले जानकारी दिनुभयो ।
“चक्रपथ सुधार आयोजनाका लागि मात्र दैनिक १० हजार लिटर डिजल आवश्यक पर्छ, अहिले दिनमा ५०० लिटर पाउन पनि मुस्किल भएको छ, सन् २०१३ सेप्टेम्बरमा चीन सरकारसँग सम्झौता भई काम अघि बढे पनि तेल एवम् निर्माण सामग्रीको अभावले अहिलेसम्म ३० प्रतिशत मात्र काम भएको छ, चार वर्षमा काम गरी सन् २०१७ सेप्टेम्बरमा सक्नुपर्नेछ, यसमा चीन सरकारले रु चार अर्ब लगानी गर्दैछ”–उहाँले भन्नुभयो ।
तेल र निर्माण सामग्रीको अभावले निर्माण सम्पन्न गर्नुपर्ने अवधि छ महिना थप्न लागिएको विभागले जनाएको छ । सडकमा दायाँबायाँ सर्भिस ट्र्याक, डिभाइडर, हरियाली बगैँचा गरी ६२ मि चौडाइको सडक निर्माण गर्न लागिएको हो । विसं २०२७ मा चीन सरकारकै अनुदानमा २७.२ किमी चार लेनको चक्रपथ निर्माण भएको थियो ।
बाँकी १७ किमी चक्रपथलाई पनि आठ लेन र ६२ मि चौडाइको बनाउन सम्भाव्यता अध्ययन गरी प्रतिवेदन चीन सरकारलाई पठाइएको आयोजना प्रमुख भट्टले जानकारी दिनुभयो । सत्र किमीको काम पनि चीन सरकारले प्रतिवेदन स्वीकृत गरेपछि सुरु गर्ने तयारी भएको छ । दश वर्षभित्र पूरै चक्रपथ आठ लेन, ६२ मि चौडाइ र नौ आकाशे पुलले युक्त हुनेछ ।
चीनको ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले निर्माण गरिरहेको चक्रपथमा कामदार र परामर्शदाता पनि चिनियाँ छन् । आयोजनाले ढल, बिजुली र खानेपानीको लाइन व्यवस्थित गरी सहयोग गर्ने काम गरिरहेको विभागका उपमहानिर्देशक एवम् वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
“सत्ताइस किमी चक्रपथमा तीन वटा आकाशे पुल चीन सरकारले र छ वटा आकाशे पुल सरकारले बनाउनेछ, यसपछि राजधानीको यातायात व्यवस्थित हुने आशा गरिएको छ”–उहाँले भन्नुभयो ।

