-भारतीय एसएसबीले आज विहानै सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली बर्सायो, चार नेपाली गम्भीर घाइते..

सुनसरी, ९ मंसिर - भारतीय सीमा सुरक्षा बल एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली बर्साउँदा चारजना नेपाली गम्भीर घाइते भएका छन्।

सुनसरीको भन्टाबारीस्थित नेपाली भूमिमा बुधबार बिहान छिरेका करिब १० जना एसएसबीको समूहले गोली बर्साउँदा चार नेपाली गम्भीर घाइते भएका हुन्। एकाबिहानै एसएसबीले हानेको गोली लागेर हरिपुर गाविस-७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज नेपाल घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले जानकारी दिए।

एसएसबीले प्रहार गरेको गोली अशोक यादवको पेटमा लागेको छ। त्यसैगरी नरेश, मनोज र सरोजको ढाड र शरीरका अन्य भागमा गोली लागेको स्थानीयबासी पप्पु यादवले बताए। गोली लागेर गम्भीर बनेका उनीहरुलाई स्थानीयबासी र नेपाली प्रहरीेले उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएका छन्।

घटनाको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले मल ल्याउने क्रममा क्यारियरवालासँग विवाद भएपछि एसएसबीले गोली चलाएको तर गोली स्थानीयलाई लागेको बताए। नेपालीमाथि गोली बर्साएपछि एसएसबीको टोली भारतीय भूमितर्फ फर्केको छ। घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका एसपी सञ्जय शर्माले बताए। Source: Dc Nepal



प्रतिक्रिया दिनुहोस्...